Powered by Blogger.
छायाँ सरकार : भ्रम कि बास्तविकता ?

  • सन्ताेष श्रेष्ठ

सन 1945 मा दोस्रो विश्वयुद्धको अन्त्यसङ्गै र 1956 को स्वेज नहर युद्धमा  ब्रिटिश र फ्रेन्च सेनाको इजिप्टबाट लज्जास्पद फिर्तीसङ्गै उपनिवेश युगको अन्त्य हुनु र स्वतन्त्रता आन्दोलन र प्रजातान्त्रिक सरकारहरुको गठन विश्वव्यापी रूपमा हुनु तत्कालीन प्रमुख घटनाहरु हुन्। विश्व दुई ध्रुबमा विभाजित भएको र एकलाई पुँजीवादी अमेरिका र अर्कोलाई साम्यवादी सोभियत संघले नेतृत्व गरेको अवस्थामा पनि कुनै पनि देशको निर्वाचित सरकारको नीति , कार्यक्रमलाई प्रभावित पार्न सक्ने आन्तरिक शक्तिकेन्द्रको उपस्थिति रहेको र त्यो केन्द्रलाई स्वार्थ समुह वा दबाब समुहको नामले चिनिन्छ। निर्वाचित सरकारलाई असफल बनाउने र सरकारलाई आफ्नो एजेन्डा अनुरुप चल्न नदिने यस्तो समुहमा प्रायः सेना , गुप्तचर , कर्मचारी , न्यायाधीश , उद्योगी , पत्रकार र विपक्षी दल हुने गर्छ। यस्ता सरकारी संस्थाका उच्च पदस्थ शक्तिशाली र प्रभावशाली व्यक्तिहरुलाई स्थायी सरकार भनेर बुझिन्छ। कुनै पनि लोकतन्त्रमा यिनीहरूको प्रभाव , दबाब र भूमिका अहम् हुने गर्दछ। उक्त सरकारी संस्थाहरुमा कार्यरत सबै मिलेर सरकारको विरुद्धमा उत्रिने होईन कि ती मध्य केही व्यक्तिहरु आफ्नो बर्गको , जातको , धर्मको र विचारधाराको स्वार्थ र फाइदाको लागि निर्वाचित सरकारको विरुद्धमा गोप्यरुपमा लाग्ने गर्दछ। प्रायःजसो सम्पत्ति र सत्ताको भोकले यिनीहरू गोलबन्द हुने गर्दछ। यिनीहरूलाई प्रजातान्त्रिक मुल्य-मान्यता र जनमतसङ्ग कुनै सरोकार हुँदैन। यस्तो समूहले एउटा राज्यभित्र अर्को राज्यलाई जन्म दिने र गोप्य रूपमा समानान्तर सरकार चलाइरहेको हुन्छ। यस्ता समुहलाई विभिन्न नामले चिनिन्छ, जस्तै : DEEP STATE , SHADOW GOVERNMENT , SECRET GOVERNMENT , PARALLEL GOVERNMENT , INFORMAL GOVERNMENT , DUAL GOVERNMENT , DOUBLE GOVERNMENT आदि।

DEEP STATE ( छाँया सरकार ) भन्ने शब्द पहिलोपटक सन 1992 मा टर्कीमा प्रयोग गरिए पनि यो गोप्य संयन्त्रको इतिहास निकै पुरानो छ। गैरलोकतान्त्रिक र गैरसंवैधानिक सत्ता संघर्षको इतिहास केलाउने हो भने यो DEEP STATE ले निर्वाचित सरकार विरुद्धमा गलत र संगठित प्रचारबाजी गर्ने , नीति-कार्यक्रमलाई असहयोग गर्ने , वैदेशिक नीति-कुटनीतिमा हस्तक्षेप गर्ने , जनताको नजरमा गिराउने , सरकारलाई विवादित मुद्दामा फसाउने , आन्दोलन चर्काउन गोप्य तयारी गर्ने , साँसद खरिदबिक्री गराउने , सरकार ढाल्ने , मध्यावधि चुनावको वातावरण सृजना गर्ने , अतिवादी समुहलाई प्रोत्साहन दिने र केही सीप नलागे सैनिक कू ( military coup ) गराएर सत्ता हात पार्नेसम्मको हर्कत गर्ने गर्दछ। पुँजीवादी अर्थ व्यवस्था , नवउदारवाद , भूमण्डलीकरण , खुल्ला बजार अर्थतन्त्र , राजनीतिको अपराधिकरण , सशक्त र अधिकारसम्पन्न गुप्तचर एजेन्सीको स्थापना , विश्व व्यवस्थाको नेतृत्वको होडबाजी र फरकफरक राजनीतिक विचारधारात्मक संघर्ष नै यो DEEP STATE को जन्मको कारण र आधार हुन्। देश , काल , परिस्थिति , विषय र सन्दर्भ अनुसार यो DEEP STATE ले आफुलाई सकृय बनाउछ। देशको आन्तरिक वा बाह्य मामिलामा आफ्नो स्वार्थ र अधिकार उपर खतरा आएको अवस्था होस् कि विदेशी एजेन्डालाई कार्यान्वयन गर्न होस् यो शक्ति भित्रभित्रै गोप्य रूपमा सम्वाद गरेर एउटा NEXUS तयार पार्दछ , रणनीति बनाउछ र तद्नुरुप योजनाबद्ध तरिकाले सरकार विरुद्धमा परिचालन हुन्छ। कतिपय सरकार यसलाई निस्तेज पार्न सफल हुन्छ भने कतिपय असफल बन्छ। DEEP STATE प्रायः गरि आफ्नै योजनामा चल्छ भने कहिलेकाही विदेशीले बनाई दिएको योजनामा। सरकारलाई असफल बनाउन यिनीहरूले एउटामात्र PLAN बनाएका हुँदैन। PLAN A असफल भए PLAN B अनि C को प्रयोग गर्दछ। जनताको सरोकारवाला विषयहरु , जस्तै : शिक्षा , स्वास्थ्य , अर्थ , न्याय , प्रशासन लगायत अनेकौं क्षेत्रमा हस्तक्षेपकारी भूमिका अवलम्बन गर्न तयार हुन्छन् जब यिनीहरूको स्वार्थमा आँच पुर्याउने काम सरकारबाट हुन्छ। तर यति भनिरहदा , देशको आर्थिक , सैनिक र राजनीतिक क्षमता र दुर्बलता कति छ त्यसकै आधारमा DEEP STATE ले फरकफरक विषय ( agenda ) अनुसार सक्रियता देखाउने गर्छ। रास्ट्र कमजोर छ भने आन्तरिक कारण बाहेक शक्ति रास्ट्रको प्रभावमा उसैको स्वार्थ पूरा गर्न एउटा उपकरण ( apparatus ) को रूपमा काम गर्छ। तर रास्ट्र शक्ति रास्ट्र हो भने DEEP STATE ले अन्य कमजोर र गरिब रास्ट्रप्रति  कस्तो वैदेशिक नीति-कुटनीति अख्तियार गर्ने भनी सरकारलाई निर्देशित गर्ने र कहिलेकाही निर्वाचित सरकारले नमानेको खण्डमा सरकारलाई असहयोग गर्दै असफल बनाउन Grand design तयार गर्ने काम गर्दछ।

कतिपय राजनीतिक विश्लेषकहरु DEEP STATE ( छाँया सरकार ) को अस्तित्वलाई सजिलैसँग स्विकार्दैनन। यो एक Conspiracy Theory अन्तर्गत बनाइएको कथा हो भन्नेमा छन्। उनीहरुको तर्क के छ भने DEEP STATE ले गर्ने सबै गतिविधि गोप्य हुने भएकोले खासै प्रमाण र दस्तावेज बाहिर न आउने भएकोले यो Conspiracy Theory हो। जनताबाट निर्वाचित सरकारलाई चुनौती दिन सक्ने , उसको नीति-कार्यक्रमलाई प्रभावित पार्न सक्ने र समग्रमा सरकारलाई असफल बनाउन सक्ने क्षमता र स्रोत-साधन उनीहरुसङ्ग नभएकोले यो कपोकल्पित कुरा भनेर पन्छिने गर्छन्। तर संसारको केही राजनीतिक घटनाक्रमको विश्लेषण गर्ने हो भने यो गोप्य समुह जसलाई DEEP STATE भनेर भनिन्छ , वास्तवमा यो अस्तित्वमा छ र यसले विश्व राजनीतिमा अर्थपूर्ण उपस्थिती जनाएको छ। केही उदाहरणले प्रस्ट्याउने छ।

भारतबाट छुट्टिएर सन 1947 मा पाकिस्तान जन्म्यो। ७३ वर्षको राजनीतिक इतिहासलाई अध्यन गर्ने हो भने लगभग आधी समय पाकिस्तानमा सैनिक शासन लागू भयो। भुट्टो र शरिफ परिवारको वरिपरि पाकिस्तानको राजनीति घुमे पनि निर्वाचित सरकारलाई तीनपटक सेनाले अपदस्त गरेर के साबित गर्यो भने प्रजातान्त्रिक र संवैधानिक मुल्य र मान्यताभन्दा पनि देशको प्रमुख निर्णायक शक्ति सेना हो। अठार वटा प्रधानमन्त्री बनेको तर कसैले पनि आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्नुले पनि स्पष्ट पार्छ कि त्यहाँ ISI ( Inter Service Intelligence ) र पाकिस्तानी सेना प्रमुख शक्ति अर्थात DEEP STATE हो। यिनीहरूको इच्छा विपरीत पाकिस्तानमा कुनै पनि बहुआयामिक महत्वको निर्णय लिन सम्भव छैन। निर्वाचित सरकारभन्दा फ्रन्टलाईनमा शक्तिकेन्द्रको रूपमा ISI र सेनालेआफुलाई राख्नुको कारण वा एजेन्डा भनेको देशलाई सैनिकीकरण गर्ने , इस्लामिकीकरण गर्ने , भारत-नियंत्रित कश्मीरलाई पाकिस्तानमा मिलाउने र सत्तामा टिकिरहने भन्ने नै हो। भनिन्छ कि पाकिस्तानी गुप्तचर संस्था ISI र सेनाले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई थाहै नदिई भारतको कार्गिलमा सैनिक हस्तक्षेप गरेको थियो।

त्यस्तै यो DEEP STATE भन्ने शब्दको जन्मदाता टर्कीमा त A State within a State होईन कि States within a state अर्थात एउटा देशभित्र अनेकौं शक्तिकेन्द्रहरु अस्तित्वमा रहेको इतिहास छ। आधुनिक इतिहासकै सबैभन्दा सशक्त DEEP STATE रहेको यस देशमा धर्मनिरपेक्षतावादी , कुर्दिश स्वतन्त्रावादी , इस्लामवादी , प्रजातन्त्रबादी , वामपन्थी , उग्र दक्षिणपन्थी , रास्ट्रवादी , NATO गठवन्धन समर्थक र माफिया सबैको आ-आफ्नै शक्ति समुह र यिनीहरूले गुप्तचर , सेना , प्रहरी र अन्य सरकारी एजेन्सीका प्रभावकारी व्यक्तिहरुलाई आफ्नो पक्षमा तानेर विभिन्न शक्ति केन्द्रको स्थापना गरेका थिए र अझै पनि प्रयासरत छन्। यी तमाम DEEP STATES कहिले एक अर्कासङ्ग मिल्ने त कहिले आमनेसामने भिड्ने गर्थे। यसको पछिल्लो उदाहरण हो रास्ट्रपति रिसेप तयिप एर्डगनलाई सत्ताच्युत गर्न गरिएको सन 2016 को असफल सैनिक कू ( coup ). टर्कीले अमेरिकी गुप्तचर संस्था CIA ( Central Intelligence Agency ) ले प्रभावशाली नेता , धर्मगुरु फेथुल्ला गुलेनको सहयोगमा सत्तापलट गर्न खोजेको आरोप लाएको छ। रास्ट्रपति एर्डगनले रास्ट्रवादी र इस्लामवादी तत्व दुबैको फ्युजन गराएर त्यहाँ सक्रिय DEEP STATE लाई परास्त गर्न खोजेको अवस्था छ।
यस्तै सन 2016 को रास्ट्रपतिय निर्वाचन ताका आफुलाई हराउन DEEP STATE लागेको भन्ने आरोप वर्तमान रास्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा लाएदेखी यो शब्द व्यापक रूपमा प्रयोग हुँदै आएको छ। निर्वाचनको बेला " America First र Make America Great Again " जस्ता पोपुलिस्ट नारा लाएर चुनावमा उत्रेका ट्रम्पलाई हराउन मिडिया , कर्मचारी , सिआइए , हतियार उद्योगी-ब्यापारी , कर्पोरेट जगत र डेमोक्रेट्स लागेको भनी आरोप लाउने ट्रम्पले चुनाव जितेपछि पनि पटकपटक DEEP STATE ले आफुलाई काम गर्न नदिएको भनी गुनासो गर्नुले के कुरा स्पष्ट पार्छ भने NATO मा आर्थिक लगानी कटौती , इराक-अफगानिस्तानबाट सेना फिर्ता , छिमेकी रास्ट्र मेक्सिको , क्यानडा लगायत युरोपेली मुलुकबाट आयातित वस्तुमा भन्सार कर अत्यधिक वृद्धि , उत्तर कोरियासङ्ग वार्ता , चीनसँग ब्यापार युद्ध , इरानसङ्ग गरिएको आणविक सम्झौताबाट बहिर्गमन , रुसमाथी अझै कडा प्रतिबन्ध , पुर्वी एसियामा सशक्त सैनिक उपस्थिति , मध्यपुर्व कुटनीती जस्ता सात दशकदेखि चल्दै आएको परराष्ट्र नीति र कुटनीतिको निरन्तरताको क्रमभङ्गताले अमेरिकाका शक्तिशाली र प्रभावशाली व्यक्ति र एजेन्सीलाई झस्काएको हुनुपर्छ। DEEP STATE ले निरंतरताको क्रमभङ्गता , त्यो पनि यति तिब्र र आकस्मिक , यसलाई सहजै पचाउन सकिरहेको छैन। त्यसैले कहिले आफुलाई रुसले साइबर आक्रमण गरेर जिताएको त कहिले आफु विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर अपदस्त गर्न खोजेको भनी सक्रिय DEEP STATE प्रती आक्रोश पोख्ने गर्दछ।  रास्ट्रीय सुरक्षा सल्लाहकार जोन बोल्टन पनि यहि DEEP STATE कै एक प्रमुख पात्र हुन् जसले झन्डै अमेरिकालाई ईरानसङ्ग युद्धमा धकेलेको। तसर्थ ट्रम्पले उनलाई पदबाट बर्खास्त गरे। हुन त पुर्व रास्ट्रपति जोन एफ केनेडी ( 1960-63 ) को हत्या पछाडी पनि अमेरिकी DEEP STATE को हात थियो भनेर कतिपय राजनीतिक विश्लेषकको बुझाई छ।  भनिन्छ तत्कालीन कम्युनिस्ट रास्ट्र क्युबा बिरुद्ध सिआइएले ग्वाटेमाला र निकारागुवासङ्ग मिलेर हजारौं क्युबाबाट निर्वासित युवालाई सैनिक तालिम दिएर क्युबामाथी सन 1962 मा Bay of pigs मा आक्रमण गर्न लाउदा नराम्ररी पराजित भएकोले जोन एफ केनेडीलाई क्युबामाथी हवाइ आक्रमण गर्न दबाब दिएको तर केनेडीले त्यस्तो गर्न नसकिने किनभने सोभियत संघले क्युबाको पक्षमा आउने र तेस्रो विश्वयुद्ध हुन सक्ने भनेपछि सिआईए रुष्ट भएको र उनको हत्या गर्न लाएको भनी केही राजनीतिक विश्लेषकले Conspiracy Theory को आधार अड्कल गरेका छन्। क्युबामा गरिएको सिआईएको लज्जास्पद पराजयले अन्तर्राष्ट्रिय जगतमा उसको साख गिरेको भनी राजनीतिक विश्लेषकको बुझाई छ।

त्यस्तै नेपालको इतिहासको विभिन्न कालखण्डमा अप्रत्याशित र महत्वपूर्ण  राजनीतिक घटनाक्रम देखियो। सम्वत २०१७ को महेन्द्रको कू होस् , २०५१ को मध्यावधि चुनाव होस् , कमरेड मदन भण्डारीको हत्या ( ? ) होस् , २०५२-६२ को दस वर्षे जनयुद्ध होस् , २०५८ को नारायणहिटी दरबार हत्याकाण्ड होस् , ज्ञानेन्द्रको सैनिक कू होस् , २०६४ को मधेस आन्दोलन होस् , थारु-जनजातिको आन्दोलन र असफलता होस् , पहिलो संविधान सभाको असफलता होस् ; यी सबै घटनाहरुमा DEEP STATE को भूमिका थियो वा थिएन त्यो बहसको विषय हो। थियो भने कति गहिरो भूमिका थियो ? भित्री शक्ति र बाहिरी शक्ति केन्द्रको सहभागिता र भूमिका कति र कस्तो थियो भनेर केही तथ्य- प्रमाण र केही Conspiracy Theory को आधारमा पुन अाउने छु ।                                  धन्यवाद !


,

0 comments

Write Down Your Responses