Powered by Blogger.
सडक दुर्घटना : कारण र न्यूनीकरण


सडक यातायात नेपालीहरूका लागी विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो ।

तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नेपालीहरुले अकाल मृत्युवरण गर्नु परेको छ । अपांङ्ग भएर बांच्न बाध्य छन, धनको क्षति त्यतीकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ ।

यस्तो, अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु को–को हुन्, न्युनीकरणका लागि के गर्नु पर्छ, नीतिगत रुपमा के परिवर्तन गर्नु पर्छ भन्ने बारेमा सवैको ध्यान जान जरुरी छ ।

गाउँमा सडक खन्नु र सवारी गुडाउनुलाई गाउँलेहरु गर्व मान्छन् । सवारीमा यात्रा गर्ने सपनालाई साकार पार्न सबै मिलेर सडक त खन्छन तर सवारी गुडाउनका लागि उपयुक्त सडक बन्यो कि बनेन त्यसबारे परिक्षण नै नगरी देशका अधिकांश पहाडी तथा ग्रामिण क्षेत्रमा स्थानिय श्रोत साधनबाट सडक विस्तार गरी सवारी कुदाउने गरेका छन् जुन दुर्घटनाको कारणका रुपमा देखिएका छन् । बिकासका नाममा गरिएका बिनासका कारण बर्सेनि मानबिय क्षति ब्यहाेर्नु पर्ने हाम्राे बाध्यात्मक परिस्थिती छ । 

बजार क्षेत्रमा सडकमै हाट बजार लगाउने, घर टहरा बनाउने, पसलहरु थाप्ने, सडक अवरुद्ध हुने गरी निर्माण सामग्रीहरु थुपार्ने, कर संकलनका नाममा ढाट तथा घुम्ती राख्ने, सुरक्षा चेकपोष्टका नाममा जिकज्याक राख्ने, पशु पंक्षी छाडा छोड्ने, जथाभावि सवारी पार्किङ गर्ने कार्यले दुर्घटना बढाउँदै लगेकाे छ । 

सडक विस्तार कार्य सुस्त छ, भएका जीर्ण छन् । पहाडका सडकहरु रेखा मात्र कोरिएका छन् । केही स्थानका बाहेक अधिकांश सडकहरु भत्किएका, खाल्डा परेका, साईड दिनै नसकिने सांघुरा, खोला तथा खहरेमा बनेका पुलहरु एकतर्फि खालका, पानी जम्ने, बाढी बग्ने खालका छन्  । खोलाको यात्रा, हिलाम्मे धानखेतको यात्रा, चट्टाने गग्रेटोको यात्रा, मरुभूमि जस्तो धुलाम्मे यात्रा नेपालको सडकको एउटै यात्राले सवै अनुभव संगाल्न पाईनछ जस्का कारण दुर्घटना निम्तिने गरेका छन । 

लामो रुटमा चल्ने केही सवारी साधनहरु बाहेक छोटा तथा सहरी क्षेत्रमा सञ्चालित अधिकांश सवारी साधनहरु पुराना छन् । प्राविधिक तथा यान्त्रिक रुपमा अनुपयुक्त सवारी साधन गुडिरहेका छन् । सवारी सञ्चालन गर्न हुने नहुने भेहिकल फिटनेश टेष्ट गर्ने प्राविधिक सम्बन्धी सवारीका श्रमिक सहचालक हुने गरेको छ । सहचालकबाट हुन नसके अनुभवका आधारमा बनेका मिस्त्रिबाट मर्मत हुने गरेको छ । जिर्ण सडक, जिर्ण सवारी साधन क्षमता भन्दा बढी लोड दुर्घटनाको कारण बनेको छ ।

सार्वजनिक यातायात सेवामा निजी लगानीका कारण सेवामुखी भन्दा नाफामुखी भएको छ ।  धेरै कमाउन क्षमता भन्दा बढी यात्रु चढाउने, प्राविधिक तथा यान्त्रिक रुपमा ठिक नभएका सवारी मर्मत नगरी कुदाउने, मिस्त्रीले सामान फेर्न सल्लाह दिएपनि जवरजस्ती त्यस्तै अवस्थामा चलाउने, समाजसेवा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत हुदै कमाउ मानसिकताका कारण सडक दुर्घटना निम्तीएको छ । साथै पेशाप्रति गैर जिम्मेवार, ठेक्कामा जिम्मा लगाउने प्रवृतिले पनि दुर्घटना बढेको छ ।

तीव्र गतिमा सवारी चलाउने, अनावश्यक प्रतिष्पर्धा,  प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयां र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे ऐन कानुन बारे चेतना नहुनु दुर्घटनाका कारण हुन् । पुराना र पाका चालकहरु सुरक्षित भविश्य र राम्रो ज्यालाको खोजीमा खाडी मुलुक तर्फ लर्को लागेर जाने गरेका छन् । अहिले नयां चालकहरुको प्रवेश कार्यथलोमा बढेको छ । अहिलेका चालकहरु प्राय युवा भएकाले पनि दुर्घटना बढेको छ । 

चार पाङग्रे, दुई पाङग्रे भएभरका सवै सवारी साधन तथा मानिसले प्रयोग गर्ने सडक नै हो । सडक साझा सम्पति हो तर त्यसलाई प्रयोग गर्नेहरुले कहिलेकाहीं त्यो कुरा विर्सने गरेका छन्, आफुलाई सहज खोज्दै अरुको सडक प्रयोग गर्ने अधिकारलाई हनन् गर्ने गर्दछन् जसका कारण दुर्घटना हुने गरेको छ ।

यात्रुहरूमा झुण्डिएर, कोचिएर, हुडमा चढेर यात्रा गर्नुहुदैन भन्ने चेतना नहुनु,  आफुलाई सहज हुनेगरी घरकै छेउमा, भनेकै ठाउमा, भन्ने वित्तिकै सवारी रोक्न लगाउन चालकलाई दवाव दिन हुदैन भन्ने चेतना नहुनु दुर्घटनाको कारण हो ।

सडकको असहजतालाई व्यवस्थापन तथा आवागमनलाई सहजीकरण गर्ने निकाय प्रहरी हो । जसलाई आवागमनमा प्रतिकुल असर पार्ने र नियम उलंघन गर्नेलाई नियमन गर्न ऐनले विशेष अधिकार समेत दिईएको छ । यस्तो भद्रगोल अवस्थामा ट्राफिक प्रहरीलाई ऐनले दिएको जिम्मेवारी पुरा गर्नु सम्भव छैन ।

सडकमा उत्पन्न हुने ट्राफिक समस्याका विषयलाई भुलेर सडकमा गुड्ने सवारी साधन र चालकबाट मात्र सबै कुराको अपेक्षा गरेर कारवाही, हप्कीदप्की, गालीगलौज, जरिवानाका नाममा आर्थिक शोषण, चालकलाई बदनाम हुनेगरी सार्वजनिक अभिव्यक्ति र व्यवहारले पनि दुर्घटनालाई मलजल गरेको छ ।

मुस्कान सहितको सेवा भन्ने नेपाल प्रहरीको मुल स्लोगान विपरित मुद्रा केन्द्रीत रुखो व्यवहारले श्रमिकहरुमा उत्पन्न प्रतिशोधको आवेगले दुर्घटना निम्त्याएको छ ।

सडक दुर्घटना हुनुमा प्रतिशतको मात्रा फरक हुनसक्ला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफु पन्छिन खोज्नु कि त पानीमाथीको ओभानो हुन खोज्नु हो कि त जो होचो उसैको मुखमा घोचो भन्ने उखान जस्तै मात्र हो । सार्वजनिक सवारी उपभोक्ता, पैदल यात्री तथा सर्वसाधारणले लगाउने आरोपलाई अन्यथा मान्न नसकिएला तर ट्राफिक प्रहरी, स्थानीय सरकार, यातायात व्यवसायी संघ तथा महासंघहरु, यातायात श्रमिक सम्बध संगठनहरु तथा राजनीतिक दलहरुनै बढी जिम्मेवार बन्न जरूरी देखिन्छ । अन्यथा दुर्घटनालाई न्यूनिकरण गर्न सकिँदैन ।                    


, ,

0 comments

Write Down Your Responses